जन्मभूमि नेपाल साहित्य समाजको वार्षिकोत्सव सम्पन्न

साहित्य

दिपक दाहाल,
काठमाडौं १८ जेठ । जन्मभूमि नेपाल साहित्य समाजले विविध कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव शनिबार सम्पन्न गरेको छ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा शान्तिनगर उपभोक्ता समितिको सभाहल कपन महाँकालमा सम्पन्न भएको हो ।
सो अवसरमा चार जना साहित्यिक व्यक्तित्वहरू सम्मानित भएका छन । । सम्मानित हुनेहरूमा कवि ओमप्रसाद कोइराला, लोकगायक शक्तिकुमार श्रेष्ठ, साहित्यकार तथा पत्रकार जीवनाथ धमला र कवयित्री मञ्जुश्री केसी प्रधान (रानु) रहेका छन । यसैगरी वरिष्ठ आख्यानकार विजय चालिसेलाई पनि संस्थाको आगामी नियमित कार्यक्रमका अवसरमा विशेष सम्मान गरिने संस्थाले जनाएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको १ सय आठौँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रम सिद्धिचरण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरी शुभारम्भ गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि माया ठकुरी, विशेष अतिथि भानु भण्डारी, चार वेदका अनुवादक तिलकप्रसाद लुइँटेल, सम्मानित व्यक्तित्वका तर्फबाट जीवनाथ धमला र मञ्जुश्री केसी प्रधान (रानु) र संस्थाका उपाध्यक्ष रञ्जु दाहालले आआफ्नो मन्तव्य राखेकी थिइन ।
सोही अवसरमा स्रष्टाहरू प्रोल्लास सिन्धुलीय, डिल्लीराज अर्याल, थरेन्द्र वराल, टेकबहादुर कोइराला र यदुनाथ वसन्तपुरेले विशेष रचना वाचन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार सिताराम गुरुङले राखेका थिए भने संस्थाका संरक्षक प्रयागराज वाशिष्ठले संस्थाको गतिविधि तथा भावी कार्यदिशा प्रस्तुत गर्दै उपस्थित साहित्यिक व्यक्तित्वहरूप्रति धन्यवाद ज्ञापन गरे । ।
संस्थाका अध्यक्ष डिल्लीप्रसाद मूलतिहुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि कवयित्री तथा विविध विधाका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । संस्थाले गत वर्षदेखि विविध साहित्यिक समारोह, विशेष वाचन तथा प्रशिक्षण कार्यक्रमहरू मासिक रूपमा सञ्चालन गर्दै आइरहेको छ ।

Loading...