पोखरामा योनीका कथाहरू

साहित्य

काठमाडौं १२ असार । नारीले समाजमा भोग्नुपरेको उत्पीडन र त्यसले उनीहरूलाई पारेको असरलाई मनोवादको शैलीमा प्रस्तुत गरेको नाटक ‘प्राइभेट इज पोलिटिकल’ शुक्रबारदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुँदैछ। कथा घेराको प्रस्तुतिको नाटक ‘योनीका कथाहरू’ मञ्चनको तयारी गरिएको नाटक असार १३ गते शुक्रबारबाट असार १५ गते आइतबारसम्म गरी तीन दिन मञ्चन हुनेछ।
दिउँसो १ र साँझ ५ बजे गरी हरेक दिन दुई पटक नाटक मञ्चन गर्ने तयारी गरिएको नाटक निर्देशक आकांक्षा कार्कीले बताइन्। काठमाडौंको कौशी थियटरमा केही समयअघि मञ्चन गरिएको थियो। नाटकमा कलेज, विश्वविद्यालयदेखि आफूले काम गर्ने ठाउँमा हुने यौन दुर्व्यवहार, दुर्व्यवहारले नारीभित्र जन्माएको डर, चिन्तालाई संक्षिप्त र मर्मस्पर्श ढंगले देखाइएको छ। नाटकमा वर्तमान नेपाली महिलाको अवस्था, पितृसत्तात्मक समाजले महिलालाई हेर्ने दृष्टिकोणलाई नियाल्ने प्रयास गरेको छ। चार वर्षदेखि काठमाडौंमा योनीका कथाहरू नाटक मञ्‍चन हुँदै आएको छ।
यो नाटकलाई राजधानी बाहिर पहिलोपटक पोखरामा देखाउन लागिएको हो। नाटकको अवधारणा स्वयं कार्कीको हो भने लेखन सौरभ कार्कीले गरेका हुन्। सहयोगीको लेखन सुरज सुवेदी र सुदाम सिकेको रहेको छ। नाटक महिला हिंसाविरुद्धको अभियान हो। जसमा अनुजा अधिकारी, अर्चना पन्थी, आयुष प्याकुरेल, केनिपा सिंह, विनिता गुरुङ, लुस्निभा तुलाधार,रोशनी स्याङ्बो, सचिन मल्ल, सुदाम सिके अभिनय रहेको छ।