शिक्षकको कुटाईबाट १ विद्यार्थीको मृत्यु, प्रिन्सिपलसहित ४ शिक्षक पक्राउ

मुख्य खबर समाचार

कञ्चनपुर २५ असार । शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको उपचारको क्रममा ज्यान गएको छ । शिक्षकको कुटाईबाट घाईते भएका भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी माधव कलौनी घाइते भएका थिए ।
घाइते कलौनीको उपचारको क्रममा भारतमा ज्यान गएको परिवारजनले जनाएका छन् । शिक्षकको कुटाईबाट घाइते कलौनीको डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली तथा सेती अञ्चल अस्पताल, नेपालगञ्जको शिक्षण अस्पताल हुँदै भारत पुर्‍याईएको थियो । कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट लाग्नुका साथै दायाँखुट्टा पनि भाँचिएको थियो ।
उनको मृत्यु पछि प्रहरीले विद्यालयका प्रिन्सिपलसहित चार जना शिक्षक पक्राउ परेका छन् । प्रिन्सिपल यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि असार १३ गते विद्यालयमै कुटपिट गरिएको थियो।
मृतकका बाबु वृस्पती कलौनीले प्रिन्सिपल जोशी र अन्य तीन जना शिक्षकले कुटपिट गरेको आरोप लगाएका छन् । तर विद्यालयले भने माधवमाथि साथीभाईसँग झै झगडा गर्ने तथा खुकुरी समेत प्रहार गर्ने आरोप लगाएको छ ।
विद्यार्थी संगठनको विज्ञप्तीः
उक्त घटनाप्रति कञ्चनपुरका विभिन्न विद्यार्थी संगठनहरुले भत्सना गरेका छन् । कञ्चनपुरका पाँच विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।