चिया काण्डले लियो उग्र रुप, एन्फाको आपतकालीन बैठकद्धारा ट्रेनर अधिकारी बर्खास्त

Highlight खेलकुद मुख्य खबर

काठमाडौं १५ साउन । अखिल नेपाल फुटबल सङ्‍घ (एन्फा) को मंगलबार बसेको आपतकालिन बैठकले विभिन्न ११ निर्णय गरको छ। मङ्गलबार एन्फा कम्पलेक्स सातदोबाटोमा बसेको बैठकले एन्फाका फिटनेस ट्रेनर विवेक विक्रान्त अधिकारीलाई बर्खात गरेको छ।
‘चियाकाण्ड’मा मुछिएका अधिकारीलाई एन्फा कार्यसमिति बैठकले राष्ट्रिय टिमको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो। विश्‍वकप छनोट प्रतियोगिता तयारीका लागि असार ८ बाट अभ्यास थालेको राष्ट्रिय फुटबल टोलीका फिट्नेस ट्रेनर अधिकारी र उपकप्तान एवं गोलकिपर चेमजोङबीच विवाद भएपछि अधिकारीले चेम्जोङको मुखमा चिया छ्यापिदिएका थिए। ‘चियाकाण्ड’ छानबिन गर्न गठित समितिले दिएको सुझावअनुसार अधिकारीलाई कारबाही गरिएको एन्फाले जनाएको छ।
मधुसुदन उपाध्यायको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले पेस गरेको प्रतिवेदनको आधारमा निजलाई तत्काल राष्ट्रिय टिममा प्रदान गरिएको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो। छानबिन समितीले घटनामा संलग्न राष्ट्रिय टिमका उपकप्तान किरण चेमजोङलाई पनि अनुशासनको कारबाही गर्न सुझाव दिएको थियो। तर, एन्फाले खेलाडीमाथि भने कुनै कारबाही गरेको छैन। एन्फाको निर्णयमा ‘खेलाडीहरुलाई आवश्यक अनुशासनमा रहने गरी सचेत गराउने’ एन्फा द्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
चिया काण्डको वििरोधमा राष्ट्रिय टोलीका २२ खेलाडीले उजुरी दिएपछि एन्फाले कार्यकारी सदस्य मधुसुधन उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। उपाध्यायसँगै लिग निर्देशक सञ्जीव मिश्र र सूर्यनाथ अधिकारी रहेको छानबिन समितिले असार २९ गते आइतबार एन्फालाई प्रतिवेदन बुझाएको थियो। त्यस्तै बैठकले फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको दुवै खेल कुवेतमा खेल्ने निर्णय गरेको छ। साउन १ गते एएफसीले सर्वजनिक गरेको खेल तालिकाअनुसार दोस्रो चरणको छनोट प्रतियोगितामा नेपालले भदौ १९ गते घरेलु मैदानमा खेल्ने थियो। दशरथ रङ्गशालाको पूनर्निर्माण कार्य उक्त मितिमा सम्पन्न नहुने भएकाले कुवेतविरुद्धको पहिलो ‘होम गेम’ पनि कुवेतमै खेल्ने गरी समन्वय गर्न कुवेत फुटबल सङ्‍घ र एएफसीसँग अनुरोध गर्ने निर्णय एन्फाले गरेको छ।
अन्य खेल भने एएफसीको तालिकाअनुसार नै खेल्ने निर्णय गरेको छ। एन्फाले प्राविधिक निर्देशकमा अस्ट्रेलियाका गेरी फिलिप्सलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै सन्जित सिंह ‘हेड अफ कोचेज एजुकेशन’ पदमा नियुक्त भएका छन्। त्यस्तै नविन महर्जन ‘हेड अफ एलिट एण्ड युथ’ तथा हरि खड्का ‘हेड अफ वुमेन्स’ पदमा नियुक्त भएका छन्। त्यस्तै एन्फाले पहाडका ४५ जिल्लालाई १० लाख दिएको छ भने तराईका जिल्लालाई पाँच लाख दिने निर्णय गरेको छ। यो रकम खेलकुद पूर्वाधारमा खर्च गर्नुपर्ने एन्फाले जनाएको छ।
एन्फा बैठकले भक्तपुर जिल्ला फुटबल सङ्घले आयोजना गरेको जिल्ला लिगमा तोकिएको मापदण्ड पूरा नगरेको भन्दै छानबिनका लागि कार्यसमिति सदस्य मधुसुदन उपाध्यायकोे संयोजकत्वमा समिति गठन गरेको छ। समितिलाई ५ दिनभित्र आवश्यक छानबिन गरी एन्फा सचिवालयलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमबाट अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीलाई सम्मानस्वरुप स्वर्ण, रजत र काश्य परिचयपत्र बनाउने निर्णय गरेको छ।

Loading...