मुख्य समाचारको माथि

‘पाखा सर्दा’ दूध, दही, मोही मात्रै होइन, भात पनि खान पाइन्नथ्यो

Highlight समाज

उतिबेलाको समाज अहिलेको जस्तो थिएन्। म ८२ वर्षअघि दैलेखको रावतकोटमा जन्मिएँ। उतिबेला ‘पाखा नसर्दै’ (महिनावारी) नहुँदै छोरीहरूको विवाह गरिदिने चलन थियो। पाँचदेखि १० वर्षको उमेरकै बीचमा विवाह हुन्थ्यो। म सात वर्षकी हुँदा मेरो विवाह भयो। विवाह भएको आठ वर्षपछि ९१५ वर्षकी हुँदा० म पहिलोपटक ‘पाखा सरेँ’। माइतीमा भएको भए एक महिनासम्म गुफा ९ओडार०मा बस्नुपथ्र्यो। संजोगले घरमै भएँ, सात दिनभन्दा बढी बाहिर (छाउगोठ) मा बस्नुपरेन। गाउँघरतिर अझै पनि पहिलोपटक ‘पाखा सर्दा’ लोग्नेमान्छे त्यसमा पनि बुवा, दाजु र भाइहरूको अनुहार हेर्ने चलन छैन। ऊबेला घाम पनि हेर्न पाइन्नथ्यो।

मेरा पतिका नौ भाइ। म घरकी कान्छी बुहारी। पहिलोपटक ‘पाखा सर्दा’ रगत बगेको देखेर मैले जेठानीहरूलाई भनेँ। उहाँहरूले आफू ‘पाखा सर्दा’ बस्नका लागि बनाइएको छाउगोठमा लिएर जानुभयो। ‘पाखा सर्दा’ दूध, दही, मोही मात्रै होइन, भात पनि खान पाइन्नथ्यो। सात दिनसम्म नुनरोटीले पेट भर्नुपथ्र्यो। घरको छेउछाउ पनि आउन पाइन्नथ्यो, आँगन छोए अनिष्ट हुन्छ भन्थे। गाई–गोरुका लागि घाँस काट्नुपथ्र्यो, तर दाम्लो छुन पाइँदैनथ्यो। दाम्लो छोए, गाईभैंसीले दूध दिँदैन, पशुभाउ मर्छन् भनिन्थ्यो।

सानो उमेर, त्यसमाथि घरदेखि टाढा एकान्तमा रहेको छाउगोठमा एक्लै बस्नुपर्दा डर लाग्थ्यो, नरमाइलो लाग्थ्यो। अहिले महिनावारी हुँदा आरामसँग बस्छन्। नुहाइधुवाई गरेर सफा हुन्छन्। पोषिलो खानेकुरा खान्छन्। उतिबेला पराल ओछ्याएर सुत्नुपथ्र्यो। ओछ्याउने कपडा हुन्थेनन्। पहाडको ठाउँ। हिउँ पर्दा पनि घरकाले कपडा दिन्थेनन्। पराल ओढेर रात काट्नुपथ्र्यो। महिनावारी भएको बेला काम भने अझ धेरै गर्नुपथ्र्यो। जंगल जाने, घाँस–दाउरा गर्ने– घर बाहिरका काममा धेरै खटिनुपथ्र्यो।

विवाह भनेको के हो भन्ने थाहा नहुँदै मेरो विवाह भयो। म गर्भमै हुँदा मेरो मगनी भइसकेको थियो। परम्परा अनुसार, घरकाले जन्ती लिएर आए। माइतीघर नजिकैको पिपलको रुखमुनि मेरो विवाह भयो। उतिबेला पिपलको रूखमुनि विवाह ग(यो भने घरबार टिक्छ, घरमा अनिष्ट हुँदैन भन्थे।

विवाह भएको आठ वर्षपछि (१५ वर्षकी हुँदा) म पहिलोपटक ‘पाखा सरेँ’। माइतीमा भएको भए एक महिनासम्म गुफा (ओडार)मा बस्नुपथ्र्योे। संजोगले घरमै भएँ, सात दिनभन्दा बढी बाहिर (छाउगोठ) मा बस्नुपरेन।
अहिले सम्झन्छु, उतिबेलाको विवाह त साना केटाकेटीको खेलजस्तै थियो। बिहे हुँदा मेरा पति टेकबहादुर थापा नौ वर्षको हुनुहुन्थ्यो। डोली चढेर म एक दिन टाढाको कर्म घर पुगेँ। मलाई घरमा भिœयाइयो। भोलिपल्टै माइतीघर फर्किएँ। एक महिना बसेर फेरि घर गएँ, घरमा ठूलो परिवार थियो।

मेरा पतिका नौ भाइ, म घरकी कान्छी बुहारी। बालखैमा विवाह भएकाले सुरुसुरुमा केही थाहा भएन। मेरो काम पानी ल्याउने हुन्थ्यो। घरदेखि टाढाको धाराबाट पानी ल्याउँथेँ। उमेर बढ्दै गएपछि कामका थप जिम्मेवारी आइलागे। ठूलो परिवार भएकाले खाना पकाउँदा र भाँडा माझ्दैमा दिन जान्थ्यो। पति मान्छे खाना आएर सुत्थे। हामीले दिनमा मात्रै होइन, रातमा पनि काम गथ्र्यौं। अहिलेजस्तो गाउँघरमा मिल र घट्ट थिएनन्। अन्नलाई जाँतो–ढिकीमै पिस्ने–कुट्ने गर्नुपथ्र्यो।

दिनभरि मेलापात, बिहान–बेलुका घरको काम, रातमा कुटानी–पिसानीले गर्दा हामीजस्ता महिलाहरू सुत्नै पाउँदैनथे। उतिबेला पति–पत्नीबीच पनि बोलचाल हुन्थेन। पतिसँग बोल्नुहुन्न भनिन्थ्यो। चारजना छोराछोरी जन्माएपछि मात्रै सबैका सामु म पतिसँग बोलेकी थिएँ। हामीले सँगै खाना पनि कहिल्यै खाएनौ। पहिले पति मान्छे खाना खाएर जान्थे, उनीहरूले खाएका भाँडा माझेपछि हामीले खान्थ्यौँ। हामीले खाना खाने बेलासम्म पति मान्छेहरू सुतिसकेका हुन्थे।

म गर्भमै हुँदा मेरो मगनी भइसकेको थियो। सात वर्षकी हुँदा मेरो बिहे भयो। पतिसँग बोल्नुहुन्न भनिन्थ्यो। चारजना छोराछोरी जन्माएपछि मात्रै सबैका सामु म पतिसँग बोलेकी थिएँ।

१८ वर्षकी हुँदा मैले जेठी छोरीलाई जन्म दिएँ। छोरी जन्मने दिन म जंगलमा घाँस काट्न गएकी थिएँ। एक भारी घाँस लिएर आएँ। घर पुग्नै लाग्दा सुत्केरी व्याथाले च्याप्यो। गोठभित्र पसेँ। केहीबेरमै छोरी नन्दाको जन्म भयो। अहिले पेटमा गर्भ बसेको थाहा पाएदेखि नै गर्भवतीहरू काम गर्दैनन्, आराम गरेर बस्छन्, बच्चा जन्माउनका लागि अपरेसन गर्नुपर्छ। हामीले कहाँको आराम गर्न पाउनू रु काम गर्दागर्दा पेटमा बच्चा छ भन्ने हेक्कै हुँदैनथ्यो। हिँड्दाहिँड्दै, मेलापात जाँदा, खेतबारीमा काम गर्दागर्दै व्यथा लाग्थ्यो, सुत्केरी भइन्थ्यो।

छोरी जन्मेको भोलिपल्टै एउटा गरो मकै गोडेर फर्कें। महिनावारी हुँदाजस्तै सुत्केरी हुँदा पनि पोषिलो खाना खान पाइन्नथ्यो। मकै, कोदोको रोटी र कहिलेकाहीँ भात पाइन्थ्यो। दूध, दही, माछामासु खानुहुन्न भनिन्थ्यो। मैले ११ छोराछोरी जन्माएँ। हरेक सन्तान जन्मदा तीन महिनासम्म गोरस र माछामासु कहिल्यै खाइनँ। खान मन त हुन्थ्यो, घरकाले दिन्थेनन्। जुवानुको झोलसँग रोटी र भात खान्थेँ।

संजोगले मेरो र पतिको उमेर धेरै फरक थिएन। त्यतिबेला गाउँघरतिर अनमेल विवाह धेरै हुन्थ्यो। मेरा ससुराले पहिलो श्रीमती बितेपछि दोस्रो बिहे गर्नुभएको रहेछ। मेरी सासुआमा सात वर्षकी हुँदा मेरा ६० वर्षका ससुराले बिहे गर्नुभएको रहेछ। मेरी सासुआमाबाट पाँच छोराछोरी भए। नागरिक दैनिकमा कोइला थापाले तयार पारेको कथा हो ।
नगेन्द्र उपाध्यायसँगको कुराकानीमा आधारित।

NEWS DOWN