प्रचण्ड र माधवलाई जेल हाल्ने योजनामा ओली !

राजनीति

काठमाडौँ २२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीका विरुद्ध यतिबेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम लगायतका नेता उभिएका छन् ।

स्थायी कमिटी बैठकमा उनीहरूले ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब दिएपछि बैठक नै प्रभावित छ । बैठक छाडेर आपसी सहमति गराउन जुटेका नेता एक्लाएक्लै र सामूहिक छलफलमा छन् । कहिले अध्यक्षद्वय त कहिले अन्य नेताहरू गुटगत र समूहगत रूपमा भेला भएर गतिरोध समाप्त पार्न छलफलमा छन् । छलफलमा जुट्दा वरिष्ठ नेता माधव नेपाल भने अचेल गज्जबका तर्क छन् ।

फोन गरेर सुझाव दिनेलाई पनि उनी आफूलाई ओलीले थुन्न खोजेको कुरा सबैभन्दा पहिला सुनाउँछन् । ‘धेरै जिल्लाका नेताहरूलाई पनि माधव नेपाल आफैँले फोन गरेर मलाई ओलीजीले थुन्न लागेको भन्ने खबर गरिरहनुभएको छ’, एक जिल्ला नेताले बताउँछन् । उनले आफ्नो कुरा मात्र गर्दैनन्, कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि ओलीले थुन्ने योजना बनाएको सुनाउन पनि छुटाउँदैनन् । ‘मलाई मात्र होइन, शिविर घोटाला र युद्ध अपराधको मुद्दामा पनि प्रचण्डलाई थुन्न खोजका छन् ।’