दुइ देशबीचको विवाद चरण उत्कर्षमा : चीनमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द, कुटनीतिज्ञले कार्यालय छाडे

अन्तर्राष्ट्रिय

काठमाडौँ १२ चीनको दक्षिण(पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावास पनि बन्द भएको छ । वाणिज्य दूतावास बन्द गर्नुपर्ने सोमवार बिहानसम्मको समयसीमाभन्दा केही घण्टाअघि कर्मचारीहरूले आ(आफ्ना सरसामान लिएर कार्यालय छाडेका छन्।

कुटनीतिज्ञले कार्यालय छाड्दा वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेका थियो । उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकिरहेका छन् भने कतिपयले सेल्फी लिइरहेको देखिएको छ ।

अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न ७२ घण्टे समयसिमा दिएको थियो ।

अमेरिकी वाणिज्य दूतावासबाट लरीहरू बाहिरिँदै गरेका र कर्मचारीहरू कूटनीतिक चिह्नहरू हटाइरहेका तस्वीर चिनियाँ सरकारी सञ्चारमाध्यमले देखाएको बीबीसीले जनाएको छ। वाणिज्य दूतावास भवनबाहिर दर्जनौँ चिनियाँ प्रहरी खटेका छन्।

चीनले ‘बौद्धिक सम्पत्ति चोर्नका लागि’ ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासको प्रयोग गरेको आरोप लगाउँदै अमेरिकाले गत हप्ता उक्त दूतावास गराएसँगै चीनले पनि चङ्गदुको अमेरिकी दूतावास बन्द गराएको हो ।

चीनसँगको व्यापार तथा कोरोनाभाइरस महामारी, हङ्कङमा लागु गरिएको विवादास्पद सुरक्षा कानुन लगायतका विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ। सन् १९८५ मा स्थापित चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासमा दुई सयभन्दा बढी स्थानीय कर्मचारी नै कार्यरत थिए।

चङ्गदुस्थित वाणिज्य दूतावास बन्द भएपछि चिनियाँ मुख्य भू(भागमा चार वटा अमेरिकी वाणिज्य दूतावास र बेइजिङस्थित दूतावास बाँकी रहनेछ।