सोमबारसम्म भारी वर्षाको पूर्वानुमान

Highlight मुख्य खबर

काठमाडौँ १७ श्रावण । देशभर मनसुनी वायु र पूर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहँदा केही दिनदेखिको वर्षा अझै रोकिएको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशसहितका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा सोमबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । आज दिउँसो अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आजै दिउँसो र राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

योक्रम सोमबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता रहन विभागले आह्वान गरेको छ ।

‘देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २ ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ,’ आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श शीर्षकमा विभागले भनेको छ,’ ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’