जीवन शर्मा
ओखलढुंगा,१९ पौष । नेपाल विद्यार्थी संघ ओखलढुंगाले वर्तमान समसामयिक विषयमा ज्ञापन–पत्रमार्फत प्रमुख जिल्लाअधिकारीको ध्यानाकर्षण गराएको छ । लकडाउनको समयमा पठनपाठन लाई निरन्तरता नदिए पनि विद्यार्थीबाट शुल्क उठाएको, सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, विद्यार्थी तथा ज्येष्ठ नागरिकले पाउने भाडा छुट नदिएको, अघोषित लोडसेडिङ गरेर जनतालाई मारमा पारेको लगायतका विषयमा ध्यानाकर्षण गरेको हो ।
आज नेविसंघका जिल्ला अध्यक्ष गोविन्द कोइराला, सचिव सुरेश ढुंगेल, ओखलढुंगा–काठमाण्डौ सम्पर्क समितिका सभापति शम्भु गौतम, नगर सभापति सुजन दाहाल लगायत विद्यार्थी नेताहरुले ज्ञापन पत्रमार्फत सिडिओको ध्यानाकर्षण गराएको जनाएको छ । शैक्षिक, सामाजिक आन्दोलन र भ्रष्टाचार जन्य सवालमा सम्बद्ध पक्षलाइ निरन्तर खवरदारी गर्दै आइरहेको नेविसंघ ओखलढुंगाका अध्यक्ष गोविन्द कोइरालाले बताए ।
पछिल्लो समयमा राजनीतिक आस्थाकै आधारमा चिशंखुगढी गाउपालिकाले गैह्र कानुनी रुपमा ४३ जना शिक्षकहरुको सरुवा गरी कोभिड–१९ पछिको लकडाउनबाट तहस नहस शैक्षिक क्षेत्रलाई सिध्याउने खेलमा लागेको नेविसंघले आरोप लगाएको छ । लकडाउनको समयमा विद्यालय बन्द गरेर बैकल्पीक शिकाइका नाममा विद्यार्थीहरुबाट शुल्क उठाउने काम गरिएकाले यस्तो कार्य तत्काल बन्द गर्न माग गरिएको सचिव शुरेश ढुंगेलले बताए ।
त्यस्तै सार्वजनीक यातायात भाडामा नेपाल सरकारले विद्यार्थी र जेष्ठ नागरिकहरुलाई दिएको छुट सुविधालाई ओखलढुंगाका कुनै पनि यातायात व्यवसायिहरुले बेवास्ता गर्ने, सार्वजनीक सवारी साधनले सडकको दुरी अनुसार उचित भाडादर समायोजन गर्नुपर्नेमा दोब्बर भाडादर कायम राखेर नागरिकलाई मारमा पारेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यसलाई सच्याउन प्रमुख जिल्ला अधिकारी मार्फत माग गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए ।
विद्यार्थी र ज्येष्ठ नागरिकले पाउने सार्वजनिक सवारी भाडा छुट, नयाँ भाडादर समायोजन, शिक्षकहरुको सरुवाको निर्णय खारेज, अघोषित लोडसेडिङको अन्त्य लगायतका विषयलाई सच्याउदै तत्काल समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित पक्ष सँग आग्रह गरेको वाहाको भनाइ छ । उक्त कदम यथासिघ्र नसच्चीए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । नेविसंघको समसामयिक विषयमा ध्यानाकर्षण गाराएको प्रति प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले धन्यवाद प्रकट गरेका छन । पौडेलले भने ‘सरोकार वालाहरुले यस्ता विषयलाई समय समयमा उजागर गरी जानकारी गराएको खण्डमा प्रशासनलाई समेत योजनाबद्ध ढंगबाट कामगर्न अझ सजिलो हुने छ।’ ध्यानाकर्षष गरिएका विषयलाई सुधार गर्ने कार्ययोजनामा राखेर अघि बढ्ने समेत प्रजिअ पौडेलले प्रतिवद्धता व्यत्त गरेका छन् ।