चम्पादेवी काण्ड: ‘राजनीतिक अगेनोमा रोटी सेक्न सौताको रिसले घरमा आगो लगाए - Akhabaronline
विचार

चम्पादेवी काण्ड: ‘राजनीतिक अगेनोमा रोटी सेक्न सौताको रिसले घरमा आगो लगाए

-पुन्यराज पुडासैनी

चम्पादेवी गाउँपालिका ओखलढुंगा अहिले विवाद र बहसको केन्द्रमा रहेको छ।नेपाल कम्युनिस्ट पार्टी चम्पादेवीले ज्ञापन पत्र संगै गाउँपालिकामा तालाबन्दीको प्रयास गरे संगै विवाद र बहस सतहमा आएको हो।पछिल्ला केहि दिन संचार माध्यमहरुमा यस गाउँपालिकाका समाचार निरन्तर प्रकासित भैरहेका छन। ति समाचार र त्यहा भएका घटनाक्रम हेर्दा अझै त्यो विवादले उग्र रुप लिने देखिन्छ जसको संकेत गाउँपालिकाले पत्रकार सम्मेलन गरेर र नेकपा चम्पादेवीले जिल्ला प्रसासन कार्यालयमा उजुरी गरेर दिएका छन ।

महाभारतमा यदुबंसको बिनास भएको प्रसंग जस्तै आफै आफैमा जुधेर विनासको बाटो बनाउने होडमा अहिले चम्पादेवी गाउँपालिकाका जनप्रतिनिधिहरु लागेको देखिन्छ भने राजनीतिक दलका प्रतिनिधिहरु पनि राजनीतिक अगेनोमा रोटी सेक्न सौताको रिसले घरमा आगो लगाएको उदाहरण जस्तै देखिन्छन।समस्याको समाधान खोज्न भन्दा बढी नकारात्मक प्रचार र कसले बढी विरोधीलाई खुइलाउने भन्ने दौड बढी देखिएको अवस्थामा गाउँपालिकाले यसको महँगो मुल्य चुकाउनु पर्ने सम्भावना देखिएको छ ।

जसरी कृष्ण जस्तो भगवानको कुल पनि एक आपसको बैमनस्य र असन्तुस्टीका कारण समाप्त भयो तयस्तै अहिले चम्पादेवी गाउँपालिकामा देखिएको विवादले गाउँपालिकाको गरिमा र पहिचानलाई स्खलित गर्ने देखिन्छ जसको जिम्मेवारी कुनै एक दल वा व्यक्तिको हुने छैन ।त्यो गरिमा अधोगतीको पहिलो जिम्मेवार जनप्रतिनिधि हुनेछन भने त्यसै लहरमा सो गाउँपालिकाका राजनीतिक दल हुनेछन । अनि यसरी जिल्लाको महत्वपूर्ण स्थानीय तह विवादमा परिरहदा कुनै एक प्रतिक्रिया नदिने प्रतिनिधि सभा सदस्य र प्रदेस सभा सदस्य पनि पक्कै जिम्मेवार हुनेनै छन ।

गाउँपलिककामा अनियमितता भएको भन्दै स्वयं वडा अध्यक्षहरु नै निवेदन बोकेर जिल्ला प्रसासन गइरहदा उनीहरुले कार्यपालिका बैठकमा यसको प्रतिरोध फितलो ढंगले गरेको हो कि भन्ने प्रश्न जन्माएको छ भने आफ्नै जनप्रतिनिधिलाई यो अवस्थामा पुग्न बाट रोक्न नसक्नुले गाउँपालिका अध्यक्षको नेतृत्व कला र सकारात्मक पहल कदमिको कमि देखिएको छ ।

अझ यस गाउँपालिकामा रहेका नेकपा र नेपाली कांग्रेसका सामाजिक संजालहरुको अभिव्यक्ति हेर्दा यो चुनावी प्रचार बाजी जस्तो देखिन्छ जुन वर्तमान समयको आवस्यकता भन्दा पनि प्रतिसोध र गैरजिम्मेवारीपन हो जुन गाउँपालिकाको भविष्यका लागि प्रत्युत्पादक हुने देखिन्छ।

यो प्रकरण बाट के गुमाउदै छ चम्पादेवी गाउँपालिका ?

चम्पादेवी गाउँपालिकाको बासिन्दा यो पंक्तिकारले काठमाडौमा बसेर यी सव प्रसंग र प्रकरण हेरिरहदा अलिकति लाज ,अलिकति सरम र धेरै बेइजती महसुस गरिरहेको छ।गाउँ पालिकालाई नमुना र उन्नत बनाउने प्रयास र पहलहरुका वारेमा सब्द खर्च गरिरहेको बेला यसरी “आफ्नै आङ टक टकाएर छारो उडाउने ” प्रवृतिको वारेमा लेख्दा पक्कै कठिन पनि भएको छ ।नेकपा चम्पादेवीले लगाएका आरोप र गाउँपालिकाले दिएको प्रस्टीकरण कालान्तरमा सत्यताको तराजुमा जोखिएर आफुलाई प्रमाणित गर्लान तर यो प्रकरणले गर्दा जुन साख गाउँपालिकाले गुमाएको छ त्यसको भरपाई सायदै होला।

अहिले जसरी चम्पादेवी गाउँ पालिकाका वारेमा टिका टिपन्नी भएका छन यसले आगनी दिनमा त्यहा हुने सकारात्मक पहल र सहकार्यको वातावरणलाई दुधमा चुक मिसाए झै बनाइदिएको छ जसले न दुधको अर्थ राख्छ र चुकको यसले राख्छ त् केवल विकार निर्माणको जसको प्रतिफल गाउँपालिकावासीले भोग्नेछन।

अर्को तर्फ यसले अवका दिनमा हुने हरेक विकास निर्माण र अन्य कार्यमा प्रश्न खडा गर्नेछ जुन अग्रगतिको भन्दा पश्चगामी यात्राको सूचक बन्नेछ।अनि अहिले त्यहाका जनप्रतिनिधिले एक अर्कालाई छ्यापेको हिलोको बाछिटा सम्पूर्ण गाउँपालिका भरी फैलिनेछ त्यो हिलोको दाग बोकेर हिड्न चम्पादेवीवासी बाध्य हुनेछन ।

अवका दिनमा पनि यो समस्या समधानको पहल भएन भने यसले चम्पादेवी गाउँपालिका रुपी डुंगाको साख पक्कै डुब्नेछ अनिमात्र अहिले समान डुंगामा सवार आरोपित र आरोप लगाउने पक्षले महसुस गर्नेछन। त्यती मात्र हैन यो आफै बसेको डुंगा विनास गराउने होडको रमिता हेरिरहेका प्रतिनिधि सभा सदस्य ,प्रदेस सभा सदस्य, नेपाली कांग्रेस र नेकपा ओखलढुंगाका नेतृत्व पंक्तिले लघुताभास महसुस गर्नेछन।तर कामना गरौ त्यो विद्रूप नियती आउनु भन्दा पहिलानै यसको निराकरण हुनेछ ।

कपन अनलाइनबाट साभार

AKHABAR ONLINE TV 

Related Articles

Back to top button