ओखलढुंगामा प्रतिनिधिसभा सदस्यको चुनाव जित्न भनेजस्तो सजिलो छैन, यसरी हुदैछन मतदाता विभाजन - Akhabaronline
Highlightविचार

ओखलढुंगामा प्रतिनिधिसभा सदस्यको चुनाव जित्न भनेजस्तो सजिलो छैन, यसरी हुदैछन मतदाता विभाजन

कमल फुयाँल 
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट ५ अनुहार प्रतिस्पर्धामा छन । गठबन्धनबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका रामहरी खतिवडा चुनावी मैदानमा छन भने खतिवडाको प्रतिस्पर्धामा एमालेका यज्ञराज सुनुवार चुनावी मैदानमा छन । त्यसैगरी जसपाबाट जुद्ध डाक्रे र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट शोभा कार्की चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिकप्रसाद बास्तोला चुनावी मैदानमा छन ।

निर्वाचनको मिति नजिकैगर्दा उम्मेदवारहरु जनतासामु जाने क्रम तीब्र रुपमा बढेको छ । निर्वाचन आयोगले चुनावी प्रचारप्रसार कात्र्तिक १८ गते भन्दा अगाडि गर्न नपाउने नियम बनाएपछि नेता तथा उम्मेदवार कार्यकर्ता तथा जनतालाई फकाउन गाउगाउ जाने र भेटघाट गर्ने क्रम तीब्र रुपमा बढेको हो । जसका कारण जिल्लामा चुनावी माहोल बढेको छ ।

पाचैजना उम्मेदवारले जनतालाई आफनो पक्षमा मत दिन आ-आफनो पहुच र अस्त्र प्रयोग गरिरहेका छन । गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका रामहरी खतिवडा आफुले बहुमत ल्याउने दाउमा चुनावी मैदानमा उत्रिएका छन । त्यसैगरी नेकपा एमालेका यज्ञराज सुनुवार खतिवडालाई हराउने र आफु विजयी हुने दाउमा छन । दुबै उम्मेदवार जिल्लामा सशक्त उम्मेदवारका रुपमा उभिएका छन । सुनुवार विद्यार्थी राजनीतिको मुलधारमा आएका हुन । उनी हाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका छन । यता खतिवडा नेपाली काग्रेसका सन्त नेता स्व कृष्णप्रसाद भट्टराइको नजिक भएर राजनीतिक मुलधारमा आएका हुन । खतिवडा पनि नेपाली काग्रेसका केन्द्रीय सदस्य हुन । स्व बलबहादुर राईका स्वकिय सचिवका रुपमा काम गर्दै राजनीतिमा उदाएका रामहरी खतिवडा र विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा आएका यज्ञराज सुनुवार २०७० को संविधान सभाको निर्वाचनमा दुबै नेता ओखलढुंगाबाट विजयी भएका थिए ।

काग्रेसका रामहरी खतिवडा ओखलढुंगा क्षेत्र २ बाट विजयी भएका थिए भने एमालेका यज्ञराज सुनुवार क्षेत्र न १ बाट विजयी भएका थिए । ओखलढुंगा जिल्ला नेपाली काग्रेसको ऐतिहासिक जिल्लाका रुपमा लिइन्छ । पञ्चायत विरुद्धको आन्दोलनमा नेपाली काग्रेसका ५७ जना योद्धाले सहादत प्राप्त गरेको जिल्ला भएका कारण ओखलढुंगा काग्रेसको योगदान भएको जिल्ला मानिन्छ । यस अघिका हरेक निर्वाचन काग्रेसले जित्दै आएको जिल्ला पनि हो । तर काग्रेसको ऐतिहासिक जिल्लामा क्षेत्र न १ मा एमालेका उम्मेदवार यज्ञराज सुनुवार विजयी भएपछि ओखलढुंगामा एमालेले ठुलो शक्ति प्रयोग गर्यो । जिल्लाबाट निर्वाचित सदस्य एक जना तथा समानुपातिक २ जना हर्कबोल राई र शकुन्तला राजभण्डारी (कार्की) लाई एमालेले सांसद बनायो ।

एमालेबाट तीन सांसद र काग्रेसबाट १ सांसद सदनमा पुगे र संविधान जारी भयो । संविधान जारी भएसंगै मुलुक गणतान्त्रिक पद्धतीमा गयो र ओखलढुंगा प्रतिनिधि सभाका लागि  एक निर्वाचन क्षेत्रमा सिमित हुन पुग्यो । जिल्लामा एमाले तीन जना सांसद बनाइ शक्ति प्रयोग गरेका कारण २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार र प्रदेख क का उम्मेदवार एमालेबाटै विजयी भए । जुन निर्वाचनमा काग्रेस जिल्लामा जिरो हुन पुगेको थियो । एमालेको एकता र पावर सेरिङका कारण एमाले अग्रस्थानमा उभिन सफल भयो भने दोश्रो स्थानमा काग्रेसले पछयाएको थियो । त्यस निर्वाचनमा काग्रेसले जित्ने सम्भावना हुदाहुदै टिकट वितरणमा भएको पक्षपात र नेता नेताको बाठोपनका कारण काग्रेसले हार बेहोर्नु परेको थियो ।

काग्रेसका उम्मेदवार एक उम्मेदवारले अर्को उम्मेदवारलाई पछारेर आफु जिल्लाको नेता बन्ने दाउ गर्दा त्यसको परिणाम हारमा सिमित हुन पुगेको थियो । यसरी २०७० मा फरक फरक पार्टी र क्षेत्रबाट सांसद बनेका खतिवडा र सुनुवार २०७४ मा खतिवडालाई पराजित गर्दै विजयी भए सुनुवार आगामी मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचनमा यि नै दुइ व्यक्ति फरक पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । दुइ कार्याकाल सांसद बनेका यज्ञराज सुनुवार जनतासंग कति भिजेका छन भन्ने कुराले आगामी निर्वाचनमा महत्वपूर्ण भुमिका खेल्ने देखिन्छ भने ओखलढुगे जनताले गठबन्धनलाई कुन रुपमा हेरेका छन भन्ने कुराले आगामी निर्वाचनमा रामहरी खतिवडाको भाग्य निर्धारण गर्ने देखिन्छ ।

२०७४ सालपछि आफुले निर्वाचन जितेपछि जनताका मागलाई यज्ञराजले कति सम्बोधन गरे र निर्वाचन हार्दै गर्दा पनि काग्रेसका रामहरीले जिल्लाको विकास तथा कार्यकर्तालाई कति समेट्न सफल भए भन्ने कुराले मत विभाजन हुने देखिन्छ । २०७४ सालको निर्वाचनमा नेकपा माओवादीले एमालेसंग मिलेर चुनावी तालमेल गरेको थियो । तर आगामी मंसिर ४ हुने निर्वाचनमा भने माओवादी केन्द्र लगायतका अन्य पाँच दाल काग्रेससंग गठबन्धन गरेर चुनावी मैदानमा छन । बाहिरी रुपमा झट्ट हेर्दा दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरी खतिवडाको पक्षमा मत खस्ने देखिएतापनि मतादाताले खतिवडालाई सर्बैसर्वाका रुपमा पनि लिएका छैनन । त्यसो त जनताले यज्ञराजलाई नै विकल्पका रुपमा पनि लिएका छैनन ।

काग्रेसका खतिवडालाई २०७० मा जनताले मत दिएका थिए । खतिवडालाई त्यसबेला जनताले हेरिसकेका छन भने यज्ञराज सुनुवारलाई २०७० र २०७४ मा जनताले दोहोराएर मत दिए जिताए ओखलढुंगे जनताले २ कार्यकालसम्म सुनुवारले गरेका गतिविधिलाई नजिकबाट नियालि सकेका छन । दुबै उम्मेदवारका अगाडि ओखलढुंगे जनता ठिक्क छन तर पछाडी दुबै उम्मेदवारका आलोचना गर्न पछि पदैनन ।

जिल्लामा तेश्रो पार्टीका रुपमा उभिएको राप्रपा हरेक निर्वाचनमा सहभागिता जनाएपनि कम मत परिणामका कारण निर्वाचन अगाडि आउन सकेको छैन । पार्टीको संगठन विस्तार सुस्त र पार्टीका गतिविधि न्युन भएका कारण जनताले राप्रपालाई सामान्य रुपमा मत दिने गरेका विगतका निर्वाचन परिणाम र अभ्यासबाट बुझन सकिन्छ । हाल राप्रपाबाट डिकप्रसाद बास्तोला प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रुपमा चुनावी मैदानमा छन । जिल्लामा संगठन विस्तार न्युन भएका कारण बास्तोला खासै चर्चामा देखिदैनन । तर प्रमुख दलहरुको झुण्डको राजनीतिका कारण ‘जुन जोगी आएपनि कानै चिरेका’ भन्ने जस्तो दलहरुको व्यवहारका र प्रमुख दलहरुप्रति जनतामा वितृष्णा जागेका कारण राप्रपाले केही मत तान्न सक्ने अवस्था देखिएको छ ।

त्यसैगरी एक स्थानीय तह खिजिदेम्बा गाउपालिका नेतृत्व लिन सफल भएको जनता समाजबादी पार्टी (जसपा) ले जुद्ध ढाक्रेलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा चुनावी मैदानमा उतारेको छ । ढाक्रेले विगतका निर्वाचनमा पनि केही मात्रामा मत ल्याउने गरेको ढाक्रेका छुट्टै मत भएका कारण यस पालिको निर्वाचनमा जसपाका मत बढेर जाने देखिएको छ । जसपाका मत बढदा खिजिदेम्बाबाट नेपाली कांग्रेसकै मत विभाजन हुने देखिन्छ । जसपाले एमालेका केही मत र काग्रेसका धेरै मत तान्ने मतदाताको आशय बुझिएको छ ।

यता देशमा भएका भष्ट्रचार अनियमितता र कुरीति तथा कुसस्कारको भण्डाफोर गर्दै न्युजटवान्टीफो टेलिभिजनको जनतासंग सिधा कुरा (टेलिभिजन कार्यक्रम) बाट जनताका लोकप्रिय तथा न्यायप्रेमी बनेका कार्यक्रम प्रस्तोता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आगामी निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार चुनावी मैदानमा उतारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि शोभा कार्कीलाई चुनावी मैदानमा उतारेको छ । भाषण होइन काम, विरोध होइन विकास, कुरिती कुसस्कारको निर्मुल नीति र नियम सबैलाई बरोबर हुनुपर्छ, ठुलालाई मनोमानी गरीब जनतालाई मात्र कानुन भन्ने परिपाटी भत्काउने र कानुनको दायरामा सबैलाई ल्याउन पार्टीको प्रमुख एजेण्डा सहित कार्की चुनावी मैदानमा उत्रिएकी छन ।

देशमा भष्ट्रचार, अनियमितता, बलात्कार र कुसस्कारको भण्डाफोर गर्दै लोकप्रिय बनेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ओखलढुंगे युवाहरुको साथ सपोर्ट हुने देखिएको छ । फलत: रास्वपाले काग्रेस र एमालेकै मत क्रस गर्ने देखिएको छ । जिल्लामा एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा एमाले र गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको गठबन्धन भित्रको प्रमुख दल नेपाली कांग्रेसले औलामा मत गनेर चुनाव जित्न निकै सकस पर्ने छ । विगतका राजनीतिक दलका गतिविधि स्थानीय तहका जनप्रतिनितिको ब्यवहारका कारण आगामी निर्वाचनमा प्रमुख दलहरुकै मत विभाजन हुने देखिन्छ त्यसैले निर्वाचन जित्न दलहरुलाई बाहिरी रुपमा देखेजस्तो त्यति सजिलो भने छैन ।

Related Articles

Back to top button